Tuesday, August 21, 2018

बकरा इदको अवसरमा सार्वजनिक बिदा


काठमाडौं - मुस्लिमहरुको महान पर्व बकरा इदको अवसरमा सार्वजनिक बिदाको माग आएपछि प्रदेश सरकारले निर्णय नै गरेर सार्वजनिक बिदा दिएको हो ।
प्रदेश नम्बर १ र ५ मा आज सार्वजनिक बिदा दिइएको छ । बकरा इदकाे अवसरमा दुवै प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।
प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको मन्त्री परिषदको बैठकले बकरा इदकाे अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो ।
यस्तै प्रदेश नम्बर ५ को आन्तरिक मामिला मन्त्रालयले सार्वजनिक सूचना निकालेर मुस्लिम धर्मालम्वीहरुको महत्वपूर्ण पर्व बकर इदको उपलक्ष्यमा प्रदेश नम्बर ५ का सबै १२ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको छ । 
यसअघि गणतन्त्र दिवस जेठ १५ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको भए पनि महत्वपूर्ण सरकारी कार्यालयहरु भने सञ्चालन आएपछि प्रदेश सरकारका मन्त्रीहरुले सार्वजनिक रुपमै केन्द्र सरकारको आलोचना गरेका थिए । 

Monday, August 20, 2018

यूईएफए वर्षको उत्कृट खेलाडीको सूची सार्वजनिक, को–को परे उत्कृष्ट तीनमा ?


युरोपियन फुटबल महासंघले यूईएफए वर्षको उत्कृष्ट खेलाडीको सूची सार्वजनिक गरेको छ ।


युरोपियन फुटबल महासंघले गएराति सार्वजनिक गरेको सूचीमा रियल मड्रिडका पूर्व मिडफिल्डर तथा युभेन्टसका स्ट्राइकर रोनाल्डोसँगै लिभरपुलका स्ट्राइकर मोहम्मद सलाह र रियल मड्रिडका मिडफिल्डर मड्रिचलाई अन्तिम सूचीमा चुनेको छ । युरोपका ८० प्रशिक्षक र ५५ पत्रकारको मतका आधारमा तीन खेलाडीको अन्तिम सूची निकालेको हो ।
यो अवार्ड अगष्ट ३० मा च्याम्पियन्स लिगको समूह चरणको ड्र का बेला मोनाकोमा प्रदान गरिनेछ । 
अहिले ९९ मिलियन पाउण्डमा युभेन्टस गएका रोनाल्डोले गएको वर्षको पुरुष तर्फको अवार्ड जितेका थिए । उनले अहिलेसम्म कुल तीन पटक यो अवार्ड हात पारिसकेका छन् । 
सन् २०११ पछि युईएफले सार्वजनिक गरेको सूचीमा रोनाल्डो प्रत्यक वर्ष छनोटमा परेका छन् । यता मड्रिच विश्वकपको फाइनलमा देशलाई पुर्याउदा उत्कृष्ट प्रदर्शन गर्नुका साथै प्रतियोगिताको उत्कृष्ट खेलाडी पनि बनेका थिए ।
यसपटक रोनाल्डोलाई उनले उछिन्न सक्ने पनि बताइएको छ । यस्तै सलाहले गएको सिजनको प्रिमियर लिगमा ४४ गोल गर्नुका साथै टिमलाई च्याम्पियन्स लिगको फाइनलमा पनि पुर्‍याएका थिए ।


निर्मला बलात्कार प्रकरणका मुख्य अभियुक्त २५ दिनपछि पक्राउ



५ भदौ । कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ मा ११ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका १९ का दिलिपसिंह बिष्ट रहेका प्रहरीले जनाएको छ । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी र कञ्चनपुर प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो । साउन १० गते बेपत्ता भएकी बालिका पन्तलाई बिष्टले बलात्कारपछि हत्या गरेको प्रहरीको दावी छ । 

घटना भएको २५ दिनपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले स्थानीय दिलिपसिंह विष्टलाई पक्राउ गरेको हो ।
उनलाई पक्राउ गरिएको सीआईबीका एक अधिकारीले पुष्टि गरे । पक्राउ परेका विष्टलाई सोमबारै जिल्ला अदालत, कञ्चनपुरबाट म्याद थप गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।
प्रारम्भिक सोधपुछमा उनले आफ्नो कसुर स्वीकार गरिसकेको प्रहरी स्रोतले बतायो । घटनामा अन्य व्यक्तिको संलग्नता थियो या थिएन भन्ने बारेमा अझै स्पष्ट भइसकेको छैन ।
यसअघि १० साउनमा घरबाट साथीलाई भेट्न हिँडेकी पन्त भोलिपल्ट बिहान मृत अवस्थामा फेला परेकी थिइन् । अनुसन्धानका क्रममा उनको बलात्कारपछि हत्या भएको खुलेको थियो ।


प्रधानमन्त्रीले आज निरीक्षण गर्ने, १ सय ३५ घरमा ग्यास पाइप जडान गरिने


मोरङ – विराटनगर महानगरपालिकाको वडा नम्बर १४ मा मंगलबार निक्कै चहलपहल छ ।
केही दिनअघि मात्र यतिबेला घरघरमा पाइपबाट ग्यास पुर्‍याउँदा खुशी देखिएका स्थानीय मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली घर–घरमा ग्यास पाइपलाइन कार्यक्रम उद्घाटन गर्न आउनेभएपछि थप हौसिएका छन्  ।
गोसेवा सदनले स्थानीयको घर–घरमा पाइप बिछ्याएर वायोग्यास पुर्‍याएउने पहिलो चरणको काम सकिएको छ भने दोश्रो चरणको काम पनि जारी छ ।प्राविधिकहरुले स्थानियवासीको घरमा ग्यास जडान गरिसकेका छन्  । ग्यास पाइपबाट ग्यास घर घरमा पुर्याउन कसरी सफल भयो त ? यो सबैको चासोको विषय बनेको छ ।
त्रिभुवन दाहाल विराटनगर १४ का स्थानीयवासी हुनुहुन्छ । उहाँको घरमा यतिबेला पाइपबाट ल्याइएको ग्यासबाट खाना पाक्छ । ‘विराटनगरमा निर्माण भएको यो बायो ग्यास प्राकृतिक ग्यास भएकोले राम्रो छ’, दाहाल भन्नुहुन्छ, ‘सुविधा पनि एलपी ग्यासको भन्दा बढी रहेको छ ।’
एलपी ग्यासभन्दा सस्तो पर्ने भएकोले पनि उनीहरु उत्साहित देखिन्छन्  । गौशला भित्र रहेको २ सय ७ वटा गाईको गोबर संकलन गरी उत्पादन गरिएको बायोग्यास अहिले स्थानीयको घर–घरमा पाइपबाट पुर्‍याइएको छ ।
गौशलादेखि झण्डै ३ सय मिटर टाढा रहेका ३५ वटा घरमा पहिलो चरणमा बायोग्यास जडान गरिसकिएको गो सेवाका  प्रबन्धक अशोक यादवले जानकारी दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बायो ग्यासको निरीक्षण तथा उद्घाटन गर्ने भनेपछि प्राविधिकहरुले स्थानीयको घर–घरमा गएर चुलो बालेर परीक्षण समेत गरिसकेका छन्  । विश्व बैंकको ८४ लाख लगानीमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले पाइप लाइन मार्फत स्थानीयवासीको भान्सासम्म ग्यास बल्न सुरु भएसँग मंगलबार केपी शर्मा ओलीले त्यही बायो ग्यासको निरीक्षण सँगै त्यसको उद्घाटन समेत गर्ने कार्यक्रम छ ।


नेपाल एअरलाइन्स : १४ वटा जहाजमा जम्मा उड्छन ६ वटा


काठमाडौं –संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको समिक्षा कार्यक्रममा नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले निगमले गरेको प्रगति सुनाउँदै हुनुहुन्थ्यो ।
नयाँ  योजना र जापान तथा कोरियामा निगमका जहाज किन जान सकेनन् भन्ने प्रसंगपछि पर्यटनमन्त्री रवीन्द्र अधिकारीले कंसाकारलाई सोध्नुभयो, ‘साँफे बगरमा परीक्षण उडान गरेपछि जहाज गएकै छैनन्, जहाज सबै बिग्रेका छन् ?’
‘अँ बिग्रेको बिग्रयै छन्, हामी त हैरान भयौँ, हेर्नुस् न’, कंसाकारले जवाफ दिनुभयो । हलभरि हाँसो फैलियो ।
‘साँच्चै भन्नुस् न ठट्टा नगर्नुस’ मन्त्री अधिकारीले फेरि सोध्नुभयो ।
‘हो हजुर बिग्रेका हुन्’, कंसाकारको जवाफ आयो । 
‘ट्वीनेटर ३ वटा चलाउने भनेको किन चलेनन् ?’ मन्त्रीले सोध्नुभयो ।
‘हैन हजुर एउटा ट्वीनेटरको त इन्जिनको के के लफडा छ, अरु दुईवटामा पनि खै के के समस्या आएको छ’ महाप्रबन्धकले जवाफ दिनुभयो ।
‘त्यो एउटाको त सामान्य इन्जिन मर्मत गरेमा पनि चल्छ रे त ?’ मन्त्रीले फेरि प्रश्न गर्नुभयो ।
‘हो हजुर सामान्य मर्मत गरेमा चल्छ’ फेरि महाप्रबन्धकको जवाफ आयो । 
‘त्यो प्राइभेटलाई दियो भने त तत्कालै बनाएर चलाउँछन्, तर हामीले बनाउन नसक्ने है, अरुले बनाएर चलाइहाल्न सक्ने हामीले किन नसकेको ? डोमेस्टिकलाई हेलचेक्र्याईं नगर्नुस है’ मन्त्रीले आदेश दिनुभयो ।
हुन पनि नेपाल वायुसेवा निगमको आन्तरिक उडान साँच्चै समस्यामा छ । आन्तरिक तर्फका ९ वटा जहाजमध्ये जम्मा २ वटा मात्रै चलेका छन् ।

९ वटामध्ये २ वटा मात्रै उड्नछन्, कुन विमान किन चलेनन् ?

नेपाल वायुसेवा निगमसँग आन्तरिक उडानको लागि अहिले ९ वटा विमान रहेका छन् । ३ वटा ट्वीनेटर, ४ वटा वाइ १२ र २ वटा एमए ६० विमान निगमसँग छन् ।
९ वटा विमानमध्ये अहिले जम्मा २ वटा विमानले मात्रै उडान भर्दै आएका छन् । त्यो पनि पाइलट अभावका कारण एउटा उड्दा अर्को नउड्ने भैरहेको छ । निगमले २ वटा विमान उडिरहेको जानकारी दिए पनि दुईवटा जहाजले एकैपटक उडान भर्न सक्दैनन् ।
चीन सरकारसँग नेपाल सरकारले सम्झौता गरेर ल्याएका ६ वटा विमान अहिले निगमको टाउको दुखाइको विषय बनेको छ । निगमसँग भएका १७ सिट क्षमताका ४ वटा वाइ १२ र  ५६ सिट क्षमताका दुईवटा एमए ६० विमानमा कहिले चिनियाँ भाषा बुझ्ने पाइलट नभएर अनि कहिले अन्य समस्याले गर्दा नियमित उड्न सकेका छैनन् ।
‘हामीलाई चिनियाँ जहाज उडाउन निकै समस्या भैसक्यो, कहिले पाइलट नहुने अनि कहिले कागजात नमिल्ने भएकाले ६ वटा जहाजको नियमित उडान हुन सकेको छैन’ निगमका प्रवक्ता रबिन्द्र श्रेष्ठले भन्नुभयो, ‘हामीले निकै कोशिस गर्दा पनि यी जहाज उडाउन सकेका छैनौं, अब कसैलाई भाडामा दिने सोचेका छौं ।’
निगमका ५६ सिटका २ वटा एम ए ६० विमानले विराटनगर, धनगढी लगायतका ट्रंक रुटमा उडान गर्न थालेपछि निजी कम्पनीका विमानले भाडा घटाएका थिए । तर अहिले भने एउटा मात्रै एमए ६० जहाज चलिरहेको छ ।
४ वटा चिनियाँ, जहाज मात्रै होइन निगमसँग भएका ३  वटा ट्वीनेटर जहाज पनि थन्किएका छन् । एउटा ट्वीनेटरको इन्जिनमा समस्या आएको छ भने अरु २ वटा ट्वीनेटरमा पनि प्राविधिक समस्या देखिएको निगमले जनाएको छ । ट्वीनेटर मर्मतको प्रयास भैरहेको पनि निगमको दावी छ ।
अहिले ९५ प्रतिशत बजार निजी क्षेत्रका विमान कम्पनीले ओगटेका छन् भने ९ वटा विमान भएको नेपाल वायुसेवा निगम जम्मा ५ प्रतिशतमा समेटिएको छ ।

अन्तर्राष्ट्रिय उडान सन्तोषजनक

आन्तरिक उडानतर्फ ९ वटामध्ये जम्मा २ वटा विमान उठाएको निगमले अन्तर्राष्ट्रियतर्फ भने ५ वटामध्ये ४ वटा जहाज उडाएको छ । बेला बेलामा बिग्रिए पनि बोइङ ७५७ ले उडान गरिरहेको छ । यस्तै २ वटा न्यारो बडी विमानले पनि उडान गरिरहेका छन् ।
निगमले ल्याएका २ वटा वाइड बडीमध्ये असार १४ गते काठमाडौं अवतरण भएको अन्नपूर्ण विमानले पनि उडान भरिरहेको छ । अर्को वाइड बडी मकालुले पनि एक दुई दिन भित्रै उडान भर्ने निगमको दावी छ । २४ अर्बको लगानीमा किनिएका यी जहाजमा २ सय ७४ सिट रहेका छन् ।
निगमले अहिले ४ वटा विमानमार्फत भारतका बैंग्लोर, मुम्बई र दिल्ली तथा कतारको दोहा, थाइल्याण्डको बैंकक, दुबई र मलेसियाको क्लालालम्पुर गरी ८ वटा गन्तब्यमा उडान भर्दै आएको छ  । 

Sunday, August 19, 2018

के तपाईंको बालबच्चाको भविष्य सुरक्षित छ !


तपाईंलाई एउटा प्रश्न सोध्न मन लाग्यो, ‘के तपाईंको बालबच्चाको भविष्य सुरक्षित छ ?’ तपाईंसँग यसको सानदार जवाफ हुनसक्छ, ‘किन नहुनु, ढुक्कले छ ।’तपाईंलाई किनपनि ढुक्क लागेको हुनुपर्छ भने, बच्चाका खातिर उनीहरुकै नाममा तपाईंले बिमा गराइदिनुभएको छ । मासिक वा बाषिर्क रुपमा जम्मा गरेको पैसा छोराछोरी हुर्केपछि एकमुष्ठ निकाल्नुहुनेछ । र, त्यो रकमले पक्कैपनि छोराछोरीको उच्च शिक्षामा खर्च गर्न सकिनेछ । वा, थप बचत हुनेछ ।
त्यसबाहेक बच्चाका लागि दैनिक, साप्ताहिक, मासिक रुपमा तपाईंले सहकारी, वैंक वा कुनै वित्तिय संस्थामा पैसा बचत गराइरहनु भएको छ । तपाईंले मनमनै हिसाब-किताब निकाल्दा त्यो पैसाले तपाईको बच्चालाई भविष्यमा कुनै आर्थिक संकट पर्नेछैन । भनौं, उनीहरु आर्थिक रुपले सुरक्षित छ ।
अब पढाई-लेखाईको कुरा त सामान्य भयो । तपाईंले अढाई बर्षको उमेरमै आमाको दुध छुटाएर बच्चालाई प्ले ग्रुप वा डे केयर सेन्टरमा राखिदिनुभयो । अहिले बच्चा अंग्रेजी माध्यामको स्कुलमा पढिरहकेा छन् । फरर अंग्रेजी बोल्छ । होमवर्क गर्छ । आज्ञाकारी छ । परीक्षामा राम्रै अंक पनि हासिल गरिरहेकै छ । अर्थात, छोराछोरीको शैक्षिक भविष्य पनि सुरक्षित छ । भोलिका दिनमा उनीहरु आफ्नो प्रमाणपत्र भजाएर भएपनि बाँच्न सक्नेछन् ।
वस्, यति भएपछि अरु के चाहियो ?
अँ, अब कुरा स्वास्थ्यको । तपाईंको बालबच्चाको स्वास्थ्य स्थिती पनि असल नै होला । बेलाबखत स्वास्थ्य परीक्षण गराइरहनु भएकै होला । पोषिलो खानेकुरा ख्वाउनुभएकै होला । सफा-सुग्घर राख्नुभएकै होला । अब उमेर छँदासम्म सानोतिनो रोगको डर पनि भएन । अर्थात, शारीरिक स्वस्थ्य पनि सुरक्षित छ ।
एउटा मान्छेको जीवन कति नै लामो हुन्छ र ? स्वास्थ्य, शिक्षा र आर्थिक सुरक्षा भएपछि अरु के चाहियो ? किन चिन्ता गर्नुपर्‍यो ? संभवत तपाईंलाई यस्तै लाग्दो हो । र, आफ्नो बच्चाको भविष्य सम्पूर्ण रुपमा सुरक्षित छ भन्ने लागेर तपाई आरमले सास फेर्नु हुँदो हो ।
आज तपाईं दिनरात खटिनुभएको छ, आफ्नो बच्चाको भोलिका खातिर । तपाईंले तपाईंको ‘आज’, आफ्ना सन्ततीका ‘भोलि’का खातिर समर्पण गरिरहनुभएको छ । श्रीमान्-श्रीमति विहान उठेदेखि साँझ विश्राम लिने बेलासम्म यन्त्र झै खटिनुभएको छ । के गरेर हुन्छ, कसो गरेर हुन्छ पैसा कमाउने ध्याउन्नमा हुनुहुन्छ । पैसा बचत गर्न पाए, भोलिका दिन सुनौलो हुनेछ भन्ने मनोकांक्षाले तपाईं आफ्नो ‘आज’लाई घोटिरहनुभएको छ ।
अर्थात तपाई ढुक्क हुनुहुन्छ, आफ्नो छोराछोरीको भविष्यप्रति ।

अब तपाईंको छोराछोरीको भविष्यबारे लेखाजोखा गरौं । मानौं तपाईंका छोराछोरी राम्रा भए, ज्ञानी भए, पढे-लेखे । उनीहरुले उच्च शिक्षा हासिल गरे । अब राम्रै जागिर खान थाल्यो । तपाईंलाई ढुक्क ।
छोराछोरीको स्वास्थ्यमा खास गडबड छैन । कुलतमा फसेका छैनन् । जाँडरक्सी, चुरोट केही सेवन गर्दैनन् । तपाईलाई ढुक्क ।
जागिर खाएर, उद्यम गरेर आफ्नो गर्जो टार्ने पैसा कमाइरहेकै छ । त्यसमाथि भैपरी आउने समस्याका लागि बैंकमा बचत पनि छँदैछ । अर्थात आर्थिक रुपले त्यती असुरक्षित ठान्नुपर्ने छैन । तपाईलाई ढुक्क ।
तर, तपाईंको टाउको दुखाउने अर्को विषय छ, जसले तपाईको छोराछोरीको भविष्य चिन्ताजनक छ भन्ने देखाउँछ ।
छोराछोरीका लागि गर्न बाँकी कुरा
तपाईं/हाम्रो छोराछोरीको भविष्यका खातिर हामीले धेरै कुरा गरेका छौं । तर, गर्नुपर्ने धेरै कुरा छुटाएका पनि छौं । अर्थात गर्नुपर्ने कुरामा हाम्रो सोंच-चेतना पुगेको छैन । ढंग पुगेको छैन ।
सायद यतिबेलासम्म तपाईंलाई झर्को लागिसक्यो होला, भन्ने खोजेको कुरा ठ्याक्कै के हो भनेर । अब खोलौं गाँठी कुरा ।
हामीले बालबच्चाका लागि आर्थिक सुरक्षा दिएका छौं । शैक्षिक सुरक्षा दिएका छौं । लालनपालन गरेका छौं । हुर्काएका छौं । बढाएका छौं । तर, उनीहरु बाँच्ने पर्यावरण कस्तो बनाइदिएका छौं ?
तपाईंलाई थाहा छ, मान्छेलाई बाँच्नका लागि पैसाले मात्र पुग्दैन । पढाईले मात्र पुग्दैन । राम्रो जागिर वा तलबले मात्र पुग्दैन । मिठो-मसिनो खानेकुराले मात्र पुग्दैन । कतिसम्म भने, पोषणयुक्त खानेकुरा, पानीले मात्र पनि पुग्दैन ।
खासमा प्राकृतिक एवं पर्यावरणसँग एकाकार भएर मात्र हामी जीवित रहन सक्छौं । दुखलाग्दो चाहि के भने, हामीले आफ्ना बच्चाको भविष्यका लागि सबै बन्दोबस्ती गरिदिएका छौं । तर, प्राकृतिक कुराहरु, पर्यावरण नष्ट गरेका छौं, दुषित बनाएका छौं । अब भोलि हाम्रा छोराछोरीले यही विषाक्त वायुमा सास फेर्नेछन् । सुन्दा तितो लाग्छ, तर त्यही विषाक्त वायुले हाम्रो छोराछोरी क्यान्सर जस्ता घातक रोगका शिकार हुनेछन् ।
सन्ततीका खातिर भयानक भोलि
यसको सोझो अर्थ भनेको के हो भने, हामीले छोराछोरीको भोलिका लागि वा भविष्यका लागि पर्यावरण यति दुषित र विषाक्त बनाइदिएका छौं कि उनीहरु नराम्ररी त्यसको चपेटामा पर्ने पक्का छ ।
तपाईंले एकपटक आँखा चिम्लेर मनन गर्नुहोस् त, पर्यावरणलाई शुद्ध बनाउनका लागि तपाईंले के गर्नुभयो ? प्लाष्टिकजन्य बस्तुको सही व्यवस्थापन गर्नुभयो ? तपाईंको गाडी/मोटरसाइकलले उडाएको धुँवाको समाधान खोज्नुभयो ? फाट्दै गएको ओजन तह रक्षाका लागि रुख-बिरुवा जोगाउनुभयो ? विद्युतिय उपकरणको प्रयोगबाट प्राकृतिक कुरामा हुने हानीलाई रोक्न सावधानी अपनाउनु भयो ? सागसब्जी, अन्नपातमा प्रयोग गरिने विषादी न्युनिकरणका लागि आफ्नोतर्फबाट केही पहल गर्नुभयो ? तपाईंको घरबाट निस्कने फोहोर र ढलको सही निकास खोज्नुभयो ?
तपाईंलाई लाग्न सक्छ, ‘म एक्लैले गरेर कहाँ हुन्छ ? त्यसमाथि फुर्सद पनि त छैन ।’ पक्कैपनि, तपाईंजस्तै हरेक व्यक्तिले यस्तै सोच्छन् । अर्थात, ‘म एक्लैले गरेर कहाँ पर्यावरण जोगाउन सकिएला ? कहाँ रुख-बिरुवाको संरक्षण गर्न सकिएला ? कहाँ खोलानाला दुषित हुनबाट जोगाइएला ?
हरेक मानिसले यस्तै धारणा राख्छन् । र, समस्याको मूल जरा त्यहीँ हो । म एक्लैले पैदा गरेको धँूवा-धुलो, प्लाष्टिक, फोहोर आदिले के नै असर गर्छ र भन्ने सोच पनि तपाईंको दिमागमा आइसक्यो । तर, एक-एक जना व्यक्तिले गर्ने गल्ती वा असावधानीले आज प्रकृति र पर्यावरण जोखिममा परेको छ ।
उदाहरण हेर्नुहोस् त !
अन्त जानुपर्दैन । काठमाडौंलाई नियाल्नुहोस् न । यो उपत्यकाको खोलानालामा पानी होइन, लेदो बग्छ । दिसा-पिसाब, प्लाष्टिक, सिनो आदिले खोलाको पानीलाई लेदो बनाएको छ । जबकी त्यही पानी हो, जसलाई शुद्ध र सफा राख्न सकिएको भए हामीले प्यास मेटाउन सक्थ्यौं ।
खोलानालामा घर-घरबाट आउने ढल मिसाइएको छ । दिसा-पिसाब, फोहोर सबै त्यही खोलामा मिसाइन्छ । विद्युतिय उपकरण, गाडी, कलकारखाना आदिबाट पैदा हुने धूँवाले काठमाडौंको वायुलाई यति प्रदूषित बनाएको छ कि, जहाँ सास फेर्नका लागि माक्स लगाउनुपर्छ । यहाँ हरेकको भान्सामा सागसब्जी मात्र पाक्दैन, त्यससँगै विष पनि । नुवाकोट, धादिङ, काभ्रे लगायतका क्षेत्रबाट दिनहुँ भित्रिने टनका टन सागसब्जी एवं खाद्यन्नमा विषाक्त तत्वको मात्रा अत्याधिक छ ।
यसको अर्थ के भने, हामीले आफ्नो वायु विषाक्त बनाएका छौं । आफ्नो खानेकुरा विषाक्त बनाएका छौं । समग्र प्रकृति र पर्यावरणमाथि अत्याचार गरेका छौं । तपाईं भन्नुहोस् त, जीवनमा तपाईंले कति रुख-बिरुवा रोप्नुभयो ? तपाईंसँग यसको जवाफ नहुन सक्छ ।

हाम्रा सन्ततीको भोलिः विषालु वायु र खानेकुरा
हो, हामीले आफ्ना सन्ततीका खातिर आर्थिक, शैक्षिक सबै खालका सुरक्षा दिएका छौं । तर, उनीहरु बाँच्ने संसार असाध्यै विषाक्त बनाइदिएका छौं । भोलि उनीहरु यही पर्यावरणमा बाँच्नेछन्, जहाँ शुद्ध वायुको अभाव छ । उनीहरु त्यही थलोमा बाँच्नेछन्, जहाँ शुद्ध पानी र खाद्यन्न पाइदैन ।
भोलि हाम्रा बालबच्चा विषालु वायु, खानेकुरा आदिको चपेटामा पर्नेछन् । जलवायु परिवर्तनको तिब्र प्रभावले उत्पन्न संकटले उनीहरुलाई टिठलाग्दो अवस्थामा पुर्‍याउनेछ । उनीहरुले खानेकुराबाट पोषक तत्व प्राप्त गर्न सक्ने छैनन् । पर्यावरणबाट शुद्ध वायु पाउने छैनन् । नतिजा के हुन्छ भने, उनीहरु रोगै-रोगले ग्रस्त हुनेछन् । खानेकुराभन्दा बढी औषधी सेवन गर्नुपर्नेछ ।
तपाईं-हामीले आफ्नो बालबच्चाको भविष्य सुरक्षित गरिदिएका छौ कि धरापमा पारिदिएका छौं ? आफै मूल्यांकन गर्नुहोस् ।
यसो गरे कसो होला ?
नभए, प्रकृति र पर्यावरण रक्षाका लागि प्राकृतिक जीवनशैली अपनाउने प्रयास गरौं । प्लाष्टिकजन्य वस्तुको प्रयोग घटाऔं । खाद्यन्नमा किटनासक औषधीको प्रयोग नगरौं । वाध्यत्मक अवस्था बाहेक गाडी, मोटरसाइकलको प्रयोग नगरौं ।
विद्युतिय उपकरणको प्रयोग कम गरौं । कम्तीमा आफ्नै घरको आसपासमा रुख-बोट बिरुवा लगाऔं । यदी रुख बिरुवा लगाउन संभव नभए भएकालाई संरक्षण गरौं । पानीको खपत कम गरौं । सन्तुलित र संयमित जीवनशैली अपनाऔं ।

ठूलो आवाज निकाल्ने मोटरसाइकल कुदाउन नपाइने


काठमाडौं महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठूलो आवाज निकाल्ने मोटरसाइकललाई काठमाडौं उपत्यकाभित्र सञ्चालनमा कडाइ गरेको छ । ठूलो आवाजका कारण आम सर्वसाधारणले समस्या व्यहोर्नु परेको निष्कर्षसहित ट्राफिकले ती मोटरसाइकलहरुमा कडाइ गरिएको हो ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त पन्त ठूलो आवाज निकाल्ने सवारीका कारण दुर्घटना बढ्नुका साथै ध्वनी प्रदुषण हुने गरेकाले नियन्त्रण गर्न लागिएको बताउँछन् ।

‘त्यस्ता मोटरसाइकलहरुबाट निस्कने ध्वनीका कारण कतिपय अपाङ, असशक्त एवं बिरामीहरु तर्सिने गरेका छन् । कतिपय अचानक ढल्ने पनि गरेका छन्’, पन्तले अनलाइनखबरसँग भने, ‘त्यस्ता बाइकहरु ओभर स्पीडमा कुदाइने गरिएको छ । ठूलो आवाजमा बाइक आउँदा के रहेछ भनेर हेर्दा समेत दुर्घटना हुने गरेको देखिन्छ ।’
पन्तका अनुसार अहिले दैनिक ४० देखि ५० वटा मोटरसाइकल दैनिक कारबाहीमा पर्ने गरेका छन् ।‘त्यसरी समातिएकाहरु मध्ये कम्पनीबाटै ठूलो आवाजमा आउनेलाई चलाउन रोक लगाएका छौं’, पन्तले थपे, ‘कतिपय मोडिफाइ गरेर ठूलो आवाज निस्किने बनाइएका छन् । उनीहरुलाई पुरानै स्वरुपमा परिवर्तन गर्न लगाएर मात्र छाडेका छौं । त्यसरी समातिएकाहरुलाई जरिवाना स्वरुप १ हजार रुपैयाँ समेत लिने गरिएको छ ।    

प्रहरीको निगरानीमा परेका मोटरसाइकल
ट्राफिक प्रहरीका अनुसार कतिपय मोटरसाइकल कम्पनीबाट आउँदै ठूलो आवाज निस्किने डिजाइनमा बनेका हुन्छन् । ती मोटरसाइकलहरु ‘रेसिङ’ र पहाडी क्षेत्रमा कुदाउनका लागि बनेका हुन् । यद्यपि, उपत्यकामा त्यस्ता मोटरसाइकलहरु कुदाइने गरिएको छ ।
ट्राफिक महाशाखाका अनुसार त्यसरी ठूला आवाज निकाल्ने मोटरसाइकलमा डुकाटी, क्रसफायर, बुलेट, बेनेली, आरएक्स लगायत छन् । ‘ती मोटरसाइकलहरु कतिपय ३ सय ५० सीसी, कपितय ८ सय त कतिपय ६ सय सीसीका छन्’, महाशाखाका एक अधिकारीले भने ।
स्रोतका अनुसार महाशाखाले त्यसरी अस्वभाविक आवाज निकाल्ने मोटसाइकललाई उपत्यकामा सञ्चालनका लागि अनुमति नदिन यातायात व्यवस्था विभागलाई पत्रचार समेत गरिसकेको छ ।


बकरा इदको अवसरमा सार्वजनिक बिदा

काठमाडौं -  मुस्लिमहरुको महान पर्व बकरा इदको अवसरमा सार्वजनिक बिदाको माग आएपछि प्रदेश सरकारले निर्णय नै गरेर सार्वजनिक बिदा दिएको हो । ...